०४ असार २०८३, बिहीबार

रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

डढेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ ।

विक्रम संवत् २०६५ सालमा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करीब ७०० हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए ।

डढेलो लागेको १४ वर्ष बितिसक्दा पनि करीब ३०० हेक्टरमा कुनै झारपात समेत नउम्रिएका कारण विज्ञ टोलीले स्थलगत अध्ययन एवं माटो परीक्षण गरेको हो ।

समुद्र सतहदेखि २ हजार ५०० मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने एवं ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रिने समस्या छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गतलाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ ।

गतलाङ पाखामा विज्ञले गरेका सिफारिसका आधारमा वनस्पति रोपण गरिने जानकारी दिँदै डिभिजन वन अधिकृत अनिल रेग्मीले १० सामुदायिक वनमा भने प्राकृतिक रूपको पुनःउत्पादन गराउन विशेष संरक्षणको व्यवस्थापन गर्न लागिएको बताए । 

डढेलोको चपेटाकै कारण गतलाङ पाखामा २५–३० हजारभन्दा बढी ठूला–ठूला सल्लाको बोट नष्ट भएका छन् । नडढेका रूख व्यवस्थापन गर्न वन उपभोक्ता समितिले पहल गरिरहेको छ । 

दीर्घकालीन सोच नहुँदा विगत वर्ष रोपण गरिएका अधिकांश टिमुरका बिरुवा नोक्सान भइसकेकाले भावी दिनमा रोपण गर्नु पूर्व नै चौपायका लागि छेकाबारको व्यवस्थाप्रति विशेष ध्यान दिन वृक्षरोपण गर्ने सबै निकायसामु अधिकृत रेग्मीले अनुरोध गरे । यस्तै हिउँदयाम सुक्खा मौसममा अचानक लाग्ने डढेलो नियन्त्रणमा सहज पार्न र वनयजन्तुलाई पानीको आपूर्ति व्यवस्थापन मिलाउन डिभिजन वन कार्यालय रसुवाले यस वर्ष गतलाङ तथा डाडागाउँका जंगलमा १–१ वटा पोखरी बनाउने गृहकार्य अगाडि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्