२१ असार २०८३, आइतबार

नारायणघाट बुटवल सडक : शिलान्यासको चार वर्षमा कालोपत्र सुरु

नारायणघाट बुटवल सडक : शिलान्यासको चार वर्षमा कालोपत्र सुरु

शिलान्यासको चार वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ । 

नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्रमा पाँच सय मिटर सडकमा आज कालोपत्र गरिएको हो । गत २०७५ चैत ८ गते शिलान्यास भएको पूर्वपश्चिम जोड्ने मुख्य राजमार्गको यसअघि पूर्वी खण्डको हर्कपुर र पश्चिम खण्डको भुमहीमा कालोपत्रको परीक्षण गरिएको थियो ।

कावासोतीदेखि लोकाहासम्मको चार किलोमिटर सडक एक साताभित्र कालोपत्र गरिसक्ने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । उनका अनुसार राजमार्गको उत्तरतर्फको साढे सात मिटर फराकिलो सडकमात्र पहिलो चरणमा कालोपत्र गरिएको हो ।  “बुधबार गरिएको कालोपत्र छ सेन्टिमिटर बाक्लो छ, दोस्रो चरणमा चैत मसान्तभित्र त्यसमाथि थप चार सेन्टिमिटर बाक्लो कालोपत्र थपिने छ”, झाले भने। 

कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको क्षेत्र कालोपत्र गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्ने भएकाले निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको जानकारी दिँदै झाले कावासोतीको लोकाहादेखि पश्चिम केरुङ्गेखोलासम्मको सडक चैतभित्र कालोपत्र गरिने बताए ।

फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशतमात्र भएको सडकको निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ करपोरेशनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलो मिटर सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ ।

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । 

salt training

कमेन्ट गर्नुहोस्