
नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
भू-राजनीतिक इस्यूहरूका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अव सरकारले त्यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताए।
बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा ज्ञवालीले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अब चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने आवश्यकतासमेत औंल्याए।
सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भीर बन्नुपर्ने बताए।
उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे।
‘बीआरआई अघि बढन नसक्नुमा भूराजनीतिक इस्युहरूले पनि कहिलेकाहीँ काम गरेको मैले देखेको छु । त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्छ भन्ने मलाई लाग्दछ । हामीले जतिछिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ,' उनले भने।
उनले उपप्रधानमन्त्रीमार्फत आग्रह गर्दै भने, 'प्रस्तावित हाम्रा जति पनि योजनाहरू छन् । तिनको कम्तीमा आधारभूत डकुमेन्टहरू सेयर गर्ने, पेश गर्ने, अब फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ । अहिलेसम्म जेजति चर्चाहरू चलिरहेका छन । जे भए पनि अब नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने तयारीको कामलाई नेपाल सरकारले सो कामलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेछ ।
उपमहासचिव ज्ञवालीले नेपालको विकासका अपेक्षाहरू पूरा गर्न पनि बीआरआई परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने तर्क गरे।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको विकासमा बीआरआई परियोजना महत्वपूर्ण अवसर हुने बताए।
उनले नेपालको पूर्वाधार विकासमा चीनले सहयोगका हातहरू थप अघि बढाउन चाहेको पनि बताए।