
सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
महासंघले आज एक विज्ञप्ति निकालेर सभामुखको भनाइले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएको छ।
महासंघका महासचिव रोशन पुरीले प्रेस विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
शुक्रबार संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले पत्रकार बिकाउ भएको भन्दै टिप्पणी गरेका थिए।
मुलुकमा पीतपत्रकारिता निकै डर लाग्दो गरी देखापरेको सभामुख घिमिरेले बताएका थिए।
महासंघले विज्ञप्तिमा सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् भएको उल्लेख गरेको छ ।
उक्त अभिव्यक्तिले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघले गम्भीर चासो र चिन्ता प्रकट गरेको छ।