
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्।
शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए।
थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि सभामुख घिमिरेले आग्रह गरे।
मुलुकमा पितपत्रकारिता निकै डर लाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ छ ।
उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।
सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए।
उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।
सभामुख घिमिरेले भने, ‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन्। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू । संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईंहरूले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि ।'
उनले थपे, 'बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला । चाहे त्यो ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरू बनाउने, नियमावली बनाउने, तिनीहरूको तल कार्यान्वयन गर्ने सन्दर्भमा होस् ।'
सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने पनि बताए।