
आर्थिक वर्षको पछिल्लो ९ महिनामा देशको ढुकुटी डेढ खर्ब ऋणमा गएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिमा नेपाल सरकारले ९ खर्ब ९ अर्ब ३९ करोड खर्च गर्दा राजश्व भने जम्मा ७ खर्ब, ४८ अर्ब ४ करोड उठेको तथ्य उल्लेख छ ।
राष्ट्र बैंकले जारी गरेको उक्त तथ्यांकमा नेपालको शोधानान्तर स्थिति भने अघिल्लो महिनाको तुलनामा ३७ अर्बले बढेको छ ।
अर्थतन्त्रको बाह्य क्षेत्र थप मजबुद हुँदै जाँदा आन्तरिक स्थिति खराब देखिएको हो ।
राष्ट्र बैंकले जारी गरेको फागुन महिनाको अन्त्यसम्मको तथ्यांकमा देशको शोधनान्तर स्थिति जम्मा ३ खर्ब २७ अर्ब ५५ करोड थियो । चैतको अन्त्यमा त्यो बढेर ३ खर्ब ६५ अर्ब, १६ करोड पुगेको छ ।
गत सालको फागुनको अन्त्यसम्म सरकारको खर्च ८ खर्ब १ अर्ब ५८ करोड थियो भने ७ खर्ब ४८ अर्ब ४ करोड राजश्व उठेको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो महिनाको अनुपातमा सरकारी ढुकुटी थप ऋणात्मक बन्दै गएको हो ।
राष्ट्र बैंकका अनुसार अहिलेसम्मको मुद्रास्फीति ४ दशमलव ६१ प्रतिशत रहेको छ भने कूल व्यापार घाटा २ दशमलव ८ प्रतिशतले घटेको छ ।
रेमिट्यान्स करिब २० प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । त्यस्तै नेपालको डलर सञ्चिति भने १९ खर्ब ११ अर्ब ६८ करोड रहेको छ ।
राष्ट्र बैंकको तथ्यांकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ दशमलव २ प्रतिशतले बढेको छ ।
निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर प्रतिशत ४ दशमलव ९ प्रतिशत रहेको छ ।