०५ साउन २०८३, मंगलबार

६४ दिनमै सरकारबाट बाहिरिए उपेन्द्र यादव

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिनुपर्ने
बैशाख ३१, २०८१
काठमाडौं
६४ दिनमै सरकारबाट बाहिरिए उपेन्द्र यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री बनेको २ महिनामै उपेन्द्र यादव सरकारबाट बाहिरिएका छन् ।

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी भइरहेका बेला यादवले नै नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् ।

गत फागुन २७ गते यादवको नेतृत्वमा जसपा सरकारमा गएको थियो । तर, दुई महिना ४ दिनपछि यादवको पार्टी सोमबार सरकारबाट बाहिरिएको हो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत २ महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,' उनले राजीनामा पत्रमा लेखेका छन्, ‘आजसम्म तपाईं नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रतिनिधिसभामा १२ सिट रहेको जसपा नेपाल २३ वैशाखमा विभाजित भएको थियो । अशोक राईको नेतृत्वमा ७ सांसद छुट्टिएर जसपा गठन गरेका थिए ।

यतिमात्रै होइन, आइतबार मात्रै मधेश सरकारलाई दिएको समर्थन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि उपेन्द्र सरकारबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्रीलाई राजीनामा बुझाएका उनले अब सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए ।

उपेन्द्रसँग प्रतिनिधिसभामा ५ सांसद छन् ।

पार्टी विभाजन गराएको र मधेश प्रदेशमा पनि जसपा नेपाल नेतृत्वको सरकारलाई अप्ठ्यारो पारेको भन्दै यादव सरकारबाट बाहिरिएका हुन् ।

पछिल्लोपटक गत ३० फागुनमा प्रधानमन्त्री प्रचण्डले जसपाका १२ सहित १५७ जना सांसदको विश्वासको मत पाएका थिए ।

तर, उपेन्द्रले समर्थन फिर्ता लिने भएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्