
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति आफू सचेत भएर लाग्ने बताएका छन् । संघीय र प्रदेशसभाका सांसदहरूलाई भेट्दै पौडेलले आफू नागरिकको राष्ट्रपति बन्न र संविधानको रक्षाको लागि प्रतिवद्ध रहेको बताएका हुन् ।
‘संविधानको पालना र संरक्षण गर्ने विषय मेरो अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहान्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु’ पौडेलले भने, ‘राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’
राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहनेसमेत पौडेलले प्रष्ट्याएका छन् । संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेको कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत रहने उनको भनाई छ ।
००००
यसैबीच राष्ट्रपति पौडेल वसन्तपुरको कुमारी घरमा जाँदा शनिबार सर्वसाधारणले हैरानी बेहोर्नु परेन । यसअघि राष्ट्रपतिका लागि सडक खाली गराएर सवारी गराइने गरेकामा शनिबार भने सामान्य रुपमा राष्ट्रपति बसन्तपुर गएका हुन् ।
राष्ट्रपति बन्नुअघि पौडेलले आफू गलत अभ्यासको विरोधमा रहेका बताएका थिए । उनले यसो भन्दै गर्दा यसअघि पशुपति दर्शनका क्रममा भने सडक खाली गराइएको थियो । तर, शनिबार भने राष्ट्रपतिको सवारीमा पुरानो परम्परा तोडिएको हो ।
००००
बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र सोमबार सरकारले लिने विश्वासको मतमा एकमत हुने हुने सहमति गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतबार संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय– टीआरसीसम्बन्धी विधेयकको पक्षमा एकढिक्का भएर उभिने नर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चैत ६ गते संसदमा विश्वासको मत लिँदैछन्। यस विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।
००००
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा आइतबार संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकबारेमा छलफल भएको बताए।
००००
नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गठबन्धन टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन नहुने बताएका छन् । केसीले गठबन्धनका नाममा सत्ता टिकाउनकै लागि उपप्रधानमन्त्रीको हुल बनाउने परीपाटी बसालिएको र त्यो गलत भएको टिप्पणी गरे ।
‘संविधानले धेरै कुराको सिमावद्ध गरिदिएको भएपनि जुनढंगले उपप्रधानमन्त्रीको हुल बनाउने गरिएको छ त्यो गलत छ’, नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्।
मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउन एकजुट हुनुपर्नेमा जोड दिए।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ। शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ ।
००००
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतवार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मतदान हुँदैछ । मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने जनाइएको छ ।
विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न त्रिविले सबैसँग आग्रह गरेको छ ।
००००
कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न १९औं साधारण सभामा उनी कूल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् ।
००००
सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले एक विज्ञप्ति निकालेर सभामुखको भनाइले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएको छ। यस्तै प्रेस युनियनलगायतले पनि सभामुखले सञ्चार क्षेत्रलाई लगाएको आक्षेपको विरोध गरेका छन् ।
००००
कोशी प्रदेश नामकरणपछि जातीय पहिचान पक्षधरहरूले विभिन्न आन्दोलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
कोशी नाममा असहमति जनाउँदै विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।