२५ असार २०८३, बिहीबार

भीमदत्त नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी ऐरी र सार्कीलाई सम्मान गर्ने

भीमदत्त नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी ऐरी र सार्कीलाई सम्मान गर्ने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १ लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ ।

क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै  खेलाडी नगरपालिकाका स्थायी वासिन्दा हुन् ।

हालै काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गरी जिम्बाबेमा हुने १ दिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकोमा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।

‘नगर प्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरिसक्नुभएको छ, छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गर्छौं,’ उनले भने, ‘नगरको गरिमा उच्च राख्नमा दुवै खेलाडीले अहम् भूमिका निर्वाह गरेका छन्, त्यसैले पुरस्कृत गर्न लागेका छौं ।’

गृहनगरमा आएका बेला दुवै जनालाई पुरस्कृत गरिने उनले जानकारी दिए ।
  
बिहीवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले यूएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेको थियो । जीतसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्