
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दया मायाले होइन पद्धति हाबी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन्।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सिनियर अधिकृतका लागि संचालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा उनले भने, 'कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन, संंगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ ।’
'वर्तमान अवस्थामा संगठन अभावमा होला, तर कसैको दबाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईंहरू सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला, आपसी बन्धुत्व भाइचारा राख्दै मैले मात्र होइन, हामी सबैले अवसर प्राप्त गर्नुपर्छ भन्ने भावना चाहे त्यो सरुवा बढुवाको विषय होस् चाहे सेवा सुविधाको विषयमा हामी सबैमा हुनपर्छ,' उनले भने।
हौसला दिँदै उनले संगठनमा एउटा सामान्य सदस्य मात्र नहुने र विशेष हुने बताए।
'हरेक सदस्यसँग संगठन बदल्न सक्ने क्षमता हुन्छ,’ उनले भने, 'आफ्नो त्यो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै आफ्नो कमाण्ड र नेतृत्वसँग हातेमालो गर्दै संगठन विकासको एउटै लक्ष्यका साथ अघि बढ्नुहोला ।
समान अवसर र संगठनको चेनअफ कमाण्डलाई बलियो बनाउन र सरुवालाई न्यायोचित गर्न सशस्त्र प्रहरी बलले ‘सुरक्षा वेशअदली बदली निर्देशिका २०७९’ लागू गरेको छ ।
जसअनुसार शुक्रबार मात्र हाल बीओपी रहेका प्रस्तावित ४५ वटा सीमा सुरक्षा गुल्ममा पहिलो पटक डीएसपी खटाइएको छ भने देशभरिका २८ वटा सुरक्षा वेशमा समेत डीएसपी खटाइएको हो ।
अब डीएसपीले कमाण्ड गर्ने प्रस्तावित सीमा सुरक्षा गुल्ममातहत २ देखि ५ वटा बीओपी रहने छ ।