२४ जेठ २०८३, आइतबार

चन्द्र ढकालको सारथि भएर वरिष्ठ उपाध्यक्षमा उठ्दैछुः उमेशलाल श्रेष्ठ

चन्द्र ढकालको सारथि भएर वरिष्ठ उपाध्यक्षमा उठ्दैछुः उमेशलाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफूले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या सूक्ष्म तरिकाबाट बुझेको बताएका छन्। 

उक्त समस्या समाधान गर्न महासंघको नेतृत्वमा आउन आफूले उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।

‘महासंघको विधानअनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ,’ गोरखा उद्योग वाणिज्य संघको ४७ औं साधारणसभामा उनले भने, ‘उद्योगी व्यवसायीका समस्या समाधान गर्न चन्द्रजीको सारथि भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’

साथै अहिले महासंघको पुरानो साख जोगाउनु पर्ने समय आएको भन्दै त्यसलाई लागि चन्द्र ढकालको टीममा आफू वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिने समेत उनले जानकारी दिए ।

यसैगरी उनले अहिले उद्योगी व्यवसायीहरू एक नभएकै कारणले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढ्नुको विकल्न नरहेको उनको भनाइ छ ।

‘अहिले हामी उद्योगी व्यवसायीहरू आन्दोलनमा छौं, तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन,’ उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो ।’

अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीमा भन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ किनकि नियम कानून बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ,’ उनले भने ।

यसैगरी अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको समस्याले गर्दा नेपाललाई पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै गएको उनको भनाइ थियो ।

‘हामी अहिले उधारोमा चलेका छौँ यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने,’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्न अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी ब्यवसायीको हितमा छैन ।’

देशमा राजनीतिक क्रान्ति भएर गणतन्त्र आए पनि तर आर्थिक क्षेत्र झन खस्किएको उनको भनाइ थियो ।

‘हामी उद्योगी व्यवसायीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन क्रान्ति गरेका होइनौं,’ उनले भने, ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउन हाम्रो लडाइँ थियो तर अहिले उल्टो भैदियो ।’

यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ उपाध्यक्ष ढकालले अहिले आफू महासंघको नेतृत्व चयनमा सर्वसम्मत गराउन लागिपरेको बताए ।

‘कार्यकाल घटाएरै भए पनि हामी सबै महासंघमा रहनुपर्छ,’ उनले भने, ‘सर्वसम्मतिका लागि मेरो प्रयास रहन्छ यदि त्यसमा सफल भएनौं भने मलाई काम गर्न सहज हुने नेतृत्व चयन गरेर पठाउन आग्रह गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्