
चोरीको मोटरसाइकलसहित काठमाडौको चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डाबाट शनिबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
घादिङ गल्छी गाउँपालिका ४ घर भई हाल काठमाडौँ नैकाप बस्दै आएका ३२ वर्षीय राजेश लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०३- ००५ प ४४ ६८ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०३५ प ७७ ३० राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
मोटरसाइकल सहित पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
२२० सिसीको पल्सर मोटरसाइकल काठमाडौँको सहयोगीनगरबाट गत कार्तिक २७ गते हराएको भनी कञ्चनपुरको बेदकोट नगरपालिका ४ घर भई हाल कोटेश्वर बस्दै आएका कृष्ण धानुकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरे।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।