
बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ ।
गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा रोगको संक्रमण फैलिएको हो ।
यी वडाका करीब ६० पशु चौपायामा रोगको संक्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिए । वडा नम्बर १ मा ८, २ मा २५ र ४ मा २० पशुचौपायामा यो रोग देखिएको हो ।
२ हप्ता अगाडि देखिएको रोगबाट गाई र गोरु बढी संक्रमित भएका छन् । ९० प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ ।
यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने गर्दछ । संक्रमण बढेपछि पशुचौपाया मर्ने समेत गर्दछन् ।
रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार शुरू गरिएको प्रमुख साउँदले बताए । यो रोग निको पार्न कुनै सूइँ छैन । उनले भने, ‘रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिने काम शुरू गरेका छौं, बेटाटिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौं ।’
रोग लागिसकेपछि पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टीनमा राख्नुपर्ने बताइएको छ । संक्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेका छैनन् ।
पशु चौपायामा रोग फैलिएकोबारे पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी, प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । रोगले थप समस्या लिनसक्ने भएकाले नियन्त्रणका लागि पहल थालिएको हो ।
लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे । यसपछि चितवनमा देखा परेको रोग बैतडीको शिवनाथमा पनि देखा परेको जनाइएको छ ।
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।
यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।