
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का अविश्वसनीय कदम र चालबाजीका कारण विश्वासको मत नदिने बताएका छन् ।
नातावाद, कृपावादमा लागेका प्रचण्डले राष्ट्रिय एकतालाई कमजोर पार्ने काम गरिरहेको आरोप समेत ओलीले लगाए ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले स्वार्थीहरूले भोट दिए पनि आफूहरूले भोट दिन नसक्ने बताएका हुन् ।
‘पुष्पकमलजी नातावाद, कृपावाद लाग्नुभएको छ । उहाँलाई एमालेविरोधी हुनुपर्ने, राष्ट्रिय शक्ति र प्रगतिशील शक्तिलाई कमजोर पार्ने काम गरिराख्नुभएको छ । राष्ट्रिय एकतालाई कमजोर पार्न खोज्ने काम उहाँले गर्नुहुन्छ,’ ओलीले भने, ‘वैदेशिक सम्बन्ध असन्तुलित र अविश्वनीय बनेको छ । यस्तो बेला गठबन्धनका स्वार्थीले भोट देलान्, हामीलाई झुक्नु र लतारिनु पर्ने छैन । पुष्पकमलजीका अविश्वसनीय कदम र चालबाजीका कारण हामीलाई विश्वास छैन। हामी विश्वासको मत दिँदैनौं । विश्वास छैन भन्ने पक्षमा मतदान गर्छौं,’ ओलीले भने ।
ओलीले प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन समेत दिए ।