
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको कुरा गरेपछि आफूले दोस्रोपटक संसद्मा विश्वासको मत लिनुपर्ने अवस्था आएको बताएका छन् ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने आफ्नो प्रस्ताव पछि एमाले र राप्रपाले सरकारले छाडेको आरोप उनले लगाए ।
सोमवार प्रतिनिधि सभा बैठकका विश्वासको मत माग्ने प्रस्ताव पेश गर्दै प्रचण्डले सरकारको गलत कामका कारण सरकार छाड्नुपरेको भनेर एमाले र राप्रपाले भन्न नसकेको समेत बताए ।
‘सरकार छाडेका दलले पनि प्रधानमन्त्री र सरकारको गलत कामका कारण विश्वासको मत फिर्ता लिनुपर्यो भन्न सक्नुभएको छैन,’ प्रचण्डले भने ।
प्रचण्डले विगतका कुरा नकोट्याउने विगतको सहमतिविपरीत एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको कुरा उठाउँदा आफूले अप्ठ्यारो महसूस गरेको बताए ।
‘संसद्मा पहिलो दिन नै संसद् विघटनको विषयले प्रवेश पायो । त्यो विषयको उठान सान्दर्भिक र प्रासंगिक थिएन । संसद् विघटनको पक्षपोषणले मलाई नैतिक चुनौती दियो,’ प्रचण्डले भने ।
सबै दलका नेताले सम्बोधन गरेपछि मतविभाजन प्रक्रिया शुरू हुनेछ ।