२३ असार २०८३, मंगलबार

कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुख बस्नेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुख बस्नेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र (हाल कृषि विकास कार्यालय) कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानूनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र सोमवार विशेष अदालतमा दायर गरिएको हो।

कालिकोटको रास्कोट-३ स्थित सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडले उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको सरकारी अनुदानको पेश्की रकममा सम्झौताअनुसार काम नगरी हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

बस्नेतसहित  खाँडाचक्र नगरपालिकाका  तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सव-इन्जिनियर गुरुराज संज्यालले सम्भाव्यता अध्ययनसमेत नगरी आयोजनाका लागि आवश्यक विद्युत आपूर्तिसमेत नभएको अवस्थामा सो स्थानमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त छ भनी सिफारिश गरेको अभियोगपत्रमा उल्लेख छ।

हाइटेक नर्सरीका लागि खरिद गरिएका यन्त्र उपकरणहरूको मूल्यसमेत अत्यधिक रूपमा बढाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ विपरीत बदनियतपूर्वक मूल्य राखी लागत अनुमान तयार गरेको पाइएको अख्तियारले जनाएको छ ।

कर्णाली प्रदेश सरकारको अनुदान ग्रहण गरी नर्सरी सञ्चालनमै नआएको अवस्थामा सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका मालसामानहरूको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन ६६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको अभियोगपत्रमा उल्लेख छ ।

सिमनाथ कृषि विकास सहकारी संस्थामा जडान भएका मालसामानहरू परीक्षण नगरी एवं नर्सरी सञ्चालनमा नै नआएको अवस्थामा उक्त नर्सरीको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने भरतबहादुर बस्नेत, सुमित भट्ट र गुरुराज संज्याललाई मुद्दा लगाइएको हो ।

मूल्याङ्‍कन तथा छनौट समितिका पदाधिकारीहरू हरिप्रसाद पण्डित,  श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी,  पूर्णबहादुर थापा,  होमनाथ लम्साल साथै सिमनाथ कृषि विकास सहकारी संस्था कालिकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्र बहादुर शाही तथा सिमनाथ कृषि विकास सहकारी संस्थालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्