
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमणको प्रयास भएको छ।
प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै ओखलढुंगामा सोमवार उनीमाथि आक्रमणको प्रयास भएको हो ।
स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भञ्ज्याङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरूले मुख्यमन्त्रीलाई अवरोध गरेका थिए ।
सिद्धिचरण नगरको वडा नम्बर १ तिर कडा सुरक्षासहित जाँदै गरेका बेला आन्दोलनकारी गाडी तोडफोड र मुख्यमन्त्रीमाथि नै दुर्व्यवहारको प्रयास गरेका हुन् ।
कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा राखिएको राष्ट्रिय झन्डा निकालेर फालेका थिए भने गाडीमाथि पनि ढुंगा प्रहार गरेका थिए ।
मुख्यमन्त्री कार्कीले आइतवार प्रदेशको नामको विषयमा कुनै छलफल नहुने बताएका थिए ।
प्रदेश नामकरणविरुद्ध लिम्बूवान, खम्बुवान, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङसहितका संगठनहरू संयुक्त संघर्षमा छन् ।
उनीहरूले आइतवार प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेका थिए । दिनभरी नै विराटनगर तनावग्रस्त बनेको थियो ।
फागुन १७ मा प्रदेशको नाम कोशी राखिएको थियो ।