क्यानडाले जापान, दक्षिण कोरिया र अमेरिकासँग मिलेर नयाँ क्वाड बनाउने प्रस्ताव राखेको छ ।
चीन र रुसलाई टक्कर दिनका लागि यो क्वाड बनाइने जापानी अधिकारीहरूले बताएको क्योदो न्युजले खबर दिएको छ ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले गत जनवरी महिनामा ओटावा भ्रमण गर्दा क्यानडाले यो प्रस्ताव राखेको थियो । क्यानडाले पसिफिक रिम क्षेत्रका लोकतान्त्रिक मुलुकहरूको सहकार्य वृद्धिका लागि यस्तो समूह बनाउन खोजेको हो ।
अमेरिकी कूटनीतिकर्मीहरूले टोक्यो र सौलसँगको सहकार्य थप गहिरो बनाउनका लागि क्यानडाले ल्याएको प्रस्तावमा सकारात्मकता देखाएका छन् ।
मार्च महिनाको शुुरूमा दक्षिण कोरियाले जापानसँगको लामो विवादलाई अन्त्य गर्ने योजना सार्वजनिक गरेको थियो । त्यसपछि अमेरिकाका दुई साझेदारबीचको सम्बन्ध थप सुध्रिने अनि रक्षा क्षेत्रमा त्रिपक्षीय सहकार्य बन्ने आशा बढेको छ । उत्तर कोरियाले तेर्स्याएको सुरक्षा चुनौतीलाई समाना गर्न यो त्रिपक्षीय साझेदारी आवश्यक छ ।
जापान र दक्षिण कोरियासँग जोडिएर क्यानडाले अमेरिकाको साथमा क्वाड साझेदारी बनाउन खोजेको छ । अहिले अस्ट्रेलिया, भारत, जापान र अमेरिकाको क्वाड साझेदारीले हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्न प्रयास गरिरहेको छ ।