नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थामा तद्अनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्रयाकमा लैजान सकिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छैठौं प्रदेश सभाको समुद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'अहिले अर्थतन्त्रका केही सूचकाङ्कहरू सकारात्मक देखिएका छन् । रेमिट्यान्स बढेको छ । विदेशी पर्यटकको संख्या बढेको छ । बैंकमा तरलता पनि बढेको छ । त्यसैले, यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ ।'
उनले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायीहरूकालागि चूनौतिपूर्ण रहेको बताए ।
“कोरोना भाइरसपछि हाम्रो आफ्नो आन्तरिक नीतिहरूका कारणले वा रसिया-युक्रेन युद्धका कारणले होस्, हाम्रो अर्थतन्त्र प्रवाभित हुन गएको छ । ब्याज बढायो भने तरलता समस्या समाधान हुन्छ भन्ने र आयात रोक्यो भने अहिलेको संकट पार लगाउन सकिन्छ भन्ने नीतिहरूका कारण अहिलेको समस्या आएको हो । ती सबै नीतिहरू निष्प्रभावी रहे । अब अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखिएका छन् । यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ । छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिन्छ,” उनले भने ।
उनले अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
'अर्थतन्त्रमा समस्या छ । अहिले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्र सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने अवस्था छ । सबै मिलेर यो अवस्थालाई पार लगाउनुपर्नेछ,' उनले भने ।
ढकालले अहिलेसम्म निर्वाचन सकिएका सबै प्रदेशहरूमा सर्वसम्मत नेतृत्व चयन भएको उदाहरण दिँदै गण्डकी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिए ।