
भारतको नयाँदिल्लीमा सञ्चालन भइरहेको आईबीए वुमनस् वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालको अन्जली टेलीले ५२ किलोग्राम तौल समूहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी छन् ।
नेपाल अब विश्व च्याम्पियनसिप पदकका लागि १ जीत मात्र टाढा छ । खेलको पहिलो राउन्डमा ५ जना जजहरूले अन्जलीलाई जिताएका थिए भने दोस्रो राउन्डको खेल मारियाको पक्षमा गएको थियो तर तेस्रो तथा अन्तिम राउन्डमा मारियामाथि हाबी हुँदै अन्जलीले खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् ।
अब अन्जलीले २२ मार्चमा बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग प्रतिस्पर्धा गर्नेछिन् ।
सोमवारै भएको अर्को खेलमा युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गरेको थियो ।
यसअघि नेपालको लागि पदकको आश गरेका सुष्मा तामाङ ४८ किलोग्राम तौल समूहमा बल्गेरियाका खेलाडीसँग ३–४ अंकको झिनो हार व्यहोरेर प्रतियोगीबाट बाहिर भइन् । संगीता सुनारले ६० किलोग्राम तौल समूहमा अस्टे«लियाका खेलाडीसँग ४–१ को अन्तरले हार व्यहोरेकी थिइन् । ७० किलोग्राम तौल समूहको नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–० अंकले हार व्यहोरेकी थिइन् ।
मिनु गुरुङ ५४ किलोग्राम तौल समूहमा थाइल्याण्डसँग, ५७ किलोग्राम तौल समूहमा चन्द्रकला थापा भनेजुएलाका खेलाडीसँग र ५० किलोग्राम तौल समूहमा अस्मित दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको आधारमा पराजित भएका छन् ।