०१ असार २०८३, सोमबार

पाल्पाका २७ वडाका वन डढेलोको उच्च जोखिममा

पाल्पाका २७ वडाका वन डढेलोको उच्च जोखिममा

पाल्पाको १० पालिकामध्ये ७ पालिकाका वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए । उनका अनुसार ७ वटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाका कूल ८१ वडामध्ये ३३ प्रतिशत डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्यांकअनुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण  मानवीय नै रहेको छ । 

डढेलोबारे प्रत्येक वर्ष चैत १ गतेदेखि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम हुने गरेका छन् । यस वर्ष जनचेतना जगाउन राष्ट्रिय कलाकारसहित दोहोरी गीत कार्यक्रमदेखि अग्नि नियन्त्रणको प्रहसनसम्मका कार्यक्रम आयोजना गरिएको छ । सोमवार तानसेनमा आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा कलाकारद्वय चिज गुरुङ र अस्मिता डल्लाकोटीले वन डढेलो लाग्न नदिन जनचेतनामूलक दोहोरी गीत प्रस्तुत गरेका छन् ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ७१ स्थानमा वन डढेलो लागेको थियो, यसमा १ जनाको ज्यान गएको थियो । वन अधिकृत अर्यालका अनुसार २०७८/७९ मा अधिक वर्षा हुँदा समेत ५ स्थानमा वन डढेलो लागेको थियो । यस वर्ष वन डढेलोका घटनामा वृद्धि हुने उनको प्रक्षेपण छ ।

जिल्लामा ७०० बढी सामुदायिक वन छन् । यिनै सामुदायिक वनमा अधिक डढेलो हुने गरेको छ । ‘मानवीय कारण नै वन डढेलोका घटना बढी हुने गरेका छन्,’ डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्छन्, ‘जनचेतना जगाउनु नै यसको अन्तिम विकल्प हो ।’

जिल्लामा अग्नि नियन्त्रणका लागि उपकरण र जनशक्ति दुवै छैनन् । उनका अनुसार तानसेन नगरपालिकामा एउटा दमकल छ । अन्य ९ स्थानीय तहसँग दकमल छैनन् । जेट सुटर, फायर एक्जुगेटर र सुटको प्रयोगबाट मात्रै अग्नि नियन्त्रणको प्रयास हुँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ वटै सुरक्षा निकायको परिचालनबाट अग्नि नियन्त्रण हुँदै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्