म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ ।
गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो ।
पटारका वासिन्दा समेत रहेका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका १५९ जनसंख्या लाभान्वित भएका जानकारी दिए ।
‘मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,’ उनले भने, ‘आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।’ २ वटा सार्वजनिक धारा निर्माण गरिएको छ ।
पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए ।
कूल २६ लाख ७४ हजार ३१४ रुपैयाँ लागत अनुमान गरिएको थियो । वेल्फेयरको १७ लाख ६ हजार ८९७ र उपभोक्ताको ९ लाख ६७ हजार ४१६ रुपैयाँको लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ ।
गत फागुन ६ गते सम्झौता भएको आयोजना चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सोमवार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । अधिकांश विकास आयोजना ढिलासुस्तीले थलिएको अवस्थामा पटार खानेपानी आयोजना निर्धारित समयभित्रै सम्पन्न भएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।