
चैत २ देखि सुरु भएको छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सोमवार सम्पन्न भएको छ ।
नेपाली फिल्मतर्फ ‘प्रकाश’बाट प्रदीप खड्का र दीया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् ।
‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिल्मसँगै चारवटा विधामा पुरस्कृत भएको थियो ।
समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फिल्मको महत्वमाथि प्रकाश पार्दै भने –‘सिनेमाले डिप्लोम्यासी रोल गर्छ ।’
उनले निफलाई सक्दो सहयोग गर्ने वचन समेत दिए ।

समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ, फिल्मकर्मीहरु प्रकास सायमी, प्रदीप खड्का तथा चर्चित अनुहारहरूको उपस्थिति रहेको थियो ।
निफका अध्धयक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए । उनले आगामी निफ अझ सशक्त रुपमा सम्पन्न गर्ने बताएका थिए । ३५ देशका ९५ फिल्म प्रतियोगी रहेको महोत्सवमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।
५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीन वटा मास्टर क्लास सम्पन्न भएका थिए ।
प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर क्लास सञ्चालन गरेका थिए ।
