०२ असार २०८३, मंगलबार

संवैधानिक आयोगहरूलाई जागिर खाने थलो बनाउनु हुँदैन- राष्ट्रियसभा अध्यक्ष

संवैधानिक आयोगहरूलाई जागिर खाने थलो बनाउनु हुँदैन- राष्ट्रियसभा अध्यक्ष
फाइल तस्वीर

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए। 

मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने स्पष्ट पारे।

अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरे।

‘आयोगहरूलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याइँ गर्नु हुँदैन । त्यो उपलब्ध गराउनु पर्छ । र, आयोगहरूले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरू, परिभाषित कामहरूलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईहरू रचनात्मक हिसावले लाग्नुहुुन्छ । त्यसको औचित्य त्यति नै पुष्टि हुन्छ । सबै आयोगहरूका लागि त्यही नै हो । र, खासगरी मुस्लिम आयोगको कुरा गरिरहँदा मुस्लिम समुदाय जो हाम्रो देशमा जहाँजहाँ रहनुभएको छ । ती बस्तीहरूमा म के आग्रह गर्छु भने कि आयोग आयोगका लागि होइन । आयोग जागिर खाने थलो बनाउनका लागि कुन बेला कुन हुन्छ ? र, म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन,' तिमिल्सिनाले भने। 

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए। 

उनले आयोगका लागि आवश्यक स्रोत, साधानको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर  मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्द्धन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए।

उनले सबै संवैधानिक आयोगहरूसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबीसमेत गरे।

salt training

कमेन्ट गर्नुहोस्