
उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन्।
मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताइन्।
उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरूले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरूको क्षतिपूर्ति उनीहरूले दिनुपर्ने बताइन्।
नेपाल दुई ठूला देशहरूको बीचमा रहेकाले आणविक रूपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गरिन्।
त्यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरू खेप्नुपरेको पनि सुनाइन्।
उब्जनी नहुने तथा पानीका मुलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्थासमेत आउन थालेको उनको भनाइ थियो।
‘जलवायु परिवर्तनले गर्दा हाम्रो जनजीवन अस्तव्यस्त छ । जलवायु परिवर्तनले विश्वव्यापी नै असर पारेको छ । नेपालले झनै धेरै असर खेप्नुपरेको छ । मान्छेहरूले उत्पादन गर्न सकेको छैन । उब्जनी फलिराखेको छैन । भोकभोकै बस्नुपरेको छ । पानीको स्रोतहरू, मूहानहरू बन्द भएर मान्छेहरू बसाइँ सरिरहेका छन् । नेपाल शान्तिको देश हो । हामी शान्ति चाहन्छौँ । हामीलाई आणविक कानूनको आवश्यकता रहेको छ । छिमेकीहरूले आणविक प्रयोग गरेर केही भयो भने तिनीहरूले क्षतिपूर्ति दिनुपर्छ । दुई ठूला देशको बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ । हामीलाई कानूनको आवश्यकता छ,’ उनले भनिन्।