
प्रदेशको नाम 'कोशी' राखेको भन्दै लिम्बूवान कार्यकर्ताले ताप्लेजुङमा आक्रमण प्रयास गरेपछि माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बले यसलाई स्वाभाविक रूपमा लिएको बताएका छन् ।
आङ्बोले शान्तिपूर्ण रूपमा गरिने विरोधलाई सम्मान गर्ने प्रतिक्रिया दिए।
प्रदेशको नाम 'कोशी' राखेको भन्दै लिम्बूवान कार्यकर्ताले ताप्लेजुङमा पूर्वमन्त्रीसमेत रहेका आङ्बोको गाडीमा ढंगा प्रहार गरेका थिए ।
माओवादीको जिल्लास्तरीय बैठकमा सहभागी सदरमुकाम फुङ्लिङ जाने क्रममा आङ्बोमाथि लिम्बूवान कार्यकर्ताले फुङ्लिङ नगरपालिकाको तक्मेडाँडा छेउमा आक्रमणको प्रयास गरेका थिए ।
उनीहरूको ढुंगा प्रहारबाट आङ्बो सवार गाडीमा क्षति पुगेको थियो।
‘जोसँग सबैभन्दा बढी अपेक्षा विश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुँदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाई मैले स्वाभाविक रुपमा लिएको छु । हामीले ल्याएको यो लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण रूपमा गरिने विरोध असहमतिप्रति मेरो सधैँ सम्मान रहनेछ । धन्यवाद ।' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
आङ्बोको हत्या गर्ने लक्ष्यसहित संघर्ष समिति लागिरहेको भन्दै लिम्बुवान कार्यकर्ताहरू मोटरसाइकलमा सवार भएको भिडियो सार्वजनिक भएको छ ।
हिजो मात्रै मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि आक्रमणको प्रयास भएको थियो ।