१३ असार २०८३, शनिबार

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ ।  

चालू आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले हाते ट्रयाक्टर २६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर १०८ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मशिन ६ थान र ड्याङ बनाउने मशिन २९ थान अनुदानमा उपलब्ध गराएको छ । 

कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो । 

‘किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ,’ प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौं । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।’

कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ,’ आचार्यले भने । 

अनुदान सहयोगमा हाते ट्रयाक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योती गुरुङले समय र पैसा बचत हुने बताइन् । ‘गाउँमा हाते ट्रयाक्टर थिएन । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि १ घण्टाको १ हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्