
काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ ।
जिल्ला प्रशासन कार्यालयको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो ।
दिनहँु राहदानी बनाउने सेवाग्राहीको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत फागुनमा ७२८ जनाले नागरिकता लिएका थिए भने २ हजार २८९ जनाले राहदानी लिएका थिए ।
राष्ट्रिय परिचयपत्रका लागि करीब २ हजार ४०० जनाले फोटो खिचाएका छन् ।
गत माघमा राहदानी लिनेको संख्या १ हजार ४७९ जना रहेकामा नागरिकता बनाउने १ हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता ६१३ जनाले र राष्ट्रिय परिचयपत्र २८१ जनाले लिएका छन् ।
गत पुसमा ७६० जनाले नागरिकता बनाएकोमा राहदानी लिने १ हजार ३७१ जना छन् । राष्ट्रिय परिचय पत्रका लागि २ हजार १६ जनाले फोटो खिचाएका छन् । जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको शुरूआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् ।
बिदाका दिन समेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए ।