
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन् ।
निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले उल्लेख गरे ।
पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउन विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग आज अन्तक्र्रियाका क्रममा पर्यटनमन्त्री किरातीले निगमका साथै मुलुकको समग्र हवाई क्षेत्रको सुधार गरी सुरक्षित र भरोसायोग्य बनाउन नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे ।
उनले भने, “वायुसेवा निगम इतिहासकै चरम सङ्कटमा छ, अर्को भाषामा भन्नुपर्दा कृत्रिम श्वास लिइरहेको छ । राष्ट्रिय ध्वजावाहकको यो हालतलाई सुधार गरेर लैजानुर्छ ।”
पर्यटनमन्त्री किरातीले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्न नसकिएको बताए ।
आफू मन्त्री भएर आएको दुई महिनाको अवधिमा मन्त्रालय र मातहत निकायमा धेरै समस्या पहिचान गरेको र समस्यालाई सम्भावनामा परिणत गर्न आवश्यक रणनीतिसमेत बनाएको उनले उल्लेख गरे ।