
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिपत्र नै नभएको व्यक्तिलाई शिक्षक बनाउने जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसमेत ६ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ।
हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई उनले आफैं स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरेका थिए।
उनले ती शिक्षकलाई तलबलगायतका सुविधाहरू निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक ७४ हजार ९२० रुपैयाँ हानीनोक्सानी गराएको अभियोगपत्रमा उल्लेख छ।
त्यसैगरी जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्वर्गीय सञ्जय ठाकुर दनुवारले हुनैनाथ प्रावि सल्सेनामा शिक्षक पद रिक्त नै नभएको, शिक्षक नियुक्तिको लागि अनुमतिपत्र नै माग नगरेको र उक्त विद्यालयले शिक्षक पदमा कसैलाई पनि नियुक्तिपत्र नै नदिएको अवस्थामा विना कुनै कागजात मनकाकुमारी अवस्थीको नियुक्तिको अभिलेखीकरण गर्नका लागि टिप्पणी उठाएकाले उनलाई समेत प्रतिवादी बनाइएको छ।
यसैगरी मरेको व्यक्तिको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजी विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकाले प्रतिवादी स्वर्गीय सञ्जय ठाकुर दनुवारको अंशियार निजको श्रीमती मञ्जुकुमारी सिंहबाट बिगो ७४ हजार ९२० रुपैयाँ असुल उपर हुने प्रयोजनका लागि मुद्दा दायर गरिएको छ ।
मनकाकुमारी अवस्थीले सरुवा भएको झुट्टो पत्र लिएर बलैराज निमावि, सुनखोलामा गई हाजिर भई नियुक्ति नै नभएको अवस्थामा समेत झुट्टो सरुवापत्रको आधारमा शिक्षक कायम भई पारिश्रमिक लिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा चलाइएको हो।
जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोत व्यक्ति हरिनाथले आफ्नो स्रोतकेन्द्रअन्तर्गत रहेको हुनैनाथ प्राथमिक विद्यालय सल्सेनामा शिक्षक पद रिक्त नरहेको, सो विद्यालयले मनकाकुमारी अवस्थीलाई शिक्षक पदमा नियुक्ति गरेको, हाजिर गर्न लगाएको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
बलैराज निमावि बैतडीका प्रधानाध्यापक नरबहादुर कुँवरले अवस्थीलाई आफ्नो विद्यालयमा विना रमानापत्र हाजिर गराई, शिक्षक पदमा कायम गरी नियुक्तिपत्र नभएको व्यक्तिलाई कानूनविपरीत पारिश्रमिक भुक्तानी दिएको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको हो।
साथै, बलैराज निमावि बैतडीका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।