भारतमा विपक्षी दलका नेता राहुल गान्धीको सांसद पद खोसिएको तथा अर्बपति अडाणीको विषयमा सरकारले जवाफ नदिएको विरोधमा विपक्षीहरूले ‘कालो’ प्रदर्शन गरेका छन् ।
त्यसमा १७ वटा विपक्षी दल सहभागी भए । सोनिया गान्धी पनि कालो लुगा लगाएर संसद् पुगिन् ।
लोकसभामा एक विपक्षी सांसदले सभामुख ओम बिडलाकै अगाडि कालो कपडा हल्लाए । त्यसपछि सभामुखले बैठक स्थगित गरे ।
बिहान ११ बजे दुवै सदनको बैठक शुरू हुनेबित्तिकै विपक्षीहरूले नारा लगाउन थाले । त्यसपछि राज्यको बैठक २ बजेसम्म अनि लोकसभाको बैठक ४ बजेसम्मका लागि स्थगित गरियो ।
कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले बताए, ‘आज हामी कालो कपडा लगाएर किन आएका हौं ? प्रधानमन्त्री मोदी यस देशमा लोकतन्त्र अन्त्य गर्न चाहन्छन् भनी हामी देखाउन खोज्दैछौं । पहिला उनले स्वायत्त निकायहरू अन्त्य गरे । त्यसपछि विपक्षी दलले जितेको राज्यमा पनि डरधम्की दिएर आफ्नै दलको सरकार बनाए । उनका सामु नझुक्ने मानिसलाई झुकाउन इन्फोर्समेन्ट डिरेक्टोरेट र सीबीआई उपयोग गरे ।’
सदनको बैठक स्थगित भएपछि विपक्षी दलहरू कांग्रेसको चेम्बरमा भेला भएर विरोधका थप कार्यक्रमको रणनीति बनाइरहेका छन् ।