३१ जेठ २०८३, आइतबार

मुस्ताङी च्यांग्राको भुवा संकलन

मुस्ताङी च्यांग्राको भुवा संकलन
प्रतिकात्मक तस्वीर

मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्यांग्राको भुवा संकलन गर्न थालिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्यांग्रा पश्मिना किसान संघको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो ।

संकलित नमूनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले बताए ।

‘लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्यांग्रा भुवाको ८०० वटा नमूना संकलन गर्दैछौं,’ उनले भने, ‘४ वटै पालिकाका १६० किसानले पालेका ५–५ वटा फरक–फरक, भूगोल, तौल, रंग र उमेर समूहका च्यांग्राको शरीरबाट नमूना भुवा निकालिनेछ ।’

चैत १३ देखि २२ गतेसम्म च्यांग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा काट्न पश्मिना उद्योग संघ, नार्क र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्रतिनिधिको उपस्थितिमा तालिमप्राप्त ९ जना प्रशिक्षक कृषक परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक नीना अमात्य (गोर्खाली), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी सहितको टोलीले चैतको ८ देखि १२ गतेसम्म स्थलगत तालिम दिएका थिए ।

‘पश्मिनाको गुणस्तरले यसको महत्त्व तथा बजार मूल्यमा असर गर्दछ,’ अन्तर्राष्ट्रिय व्यापार केन्द्रका विशेषज्ञ सिचन श्रेष्ठले भने, ‘अन्य मुलुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पश्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्यांग्राको नश्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्