
मिटरब्याजी पीडितहरुले आज बिहानैबाट विरोध प्रदर्शन शुरु गरेका छन् । पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।
पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमवारको रात बिताएका थिए ।
पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए ।
उनीहरुले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन् ।