
विराटनगरमा चर्किरहेको कोशी प्रदेश पुनः नामांकन सघर्ष समितिको आन्दोलनमा करिब १२ जना घाइते भएका छन्।
आज (मंगलबार) दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ६ जना आन्दोलनकारी र त्यति नै संख्यामा प्रहरी घाइते भएका हुन्।
घाइते हुनेमा तीन जना सशस्त्र प्रहरीका र तीन जना नै जनपथ प्रहरीका रहेका छन्।
विराटनगरस्थित बिग होटलमा प्रदेश सभा सदस्यहरूको बैठक भएको थाहा पाएपछि आन्दोलनकारीहरू त्यही पुगेर नाराबाजी गर्न थालेका थिए। उक्त क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।
झडप नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यासका साथै पानीको फोहोरासमेत प्रहार गरेको थियो।
आन्दोलनकारीहरूले प्रदेश सांसद बसेको होटलमा ढुंगामुढा गरेका थिए। उक्त क्रममा होटलमा क्षति पुगेको छ।
विराटनगरको बिग होटेलमा सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला गरेका थिए। प्रदर्शनकारीहरू सोही होटलअगाडि पुगेपछि झडप शुरू भएको थियो।