
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा समस्या भए पनि बर्बाद हुन लाग्यो भन्ने स्थितिमा नरहेको दाबी गरेका छन् । रेमिट्यान्स, राजस्व र विदेशी मुद्रा सञ्चिति राम्रो अवस्थामा रहेकाले आत्तिनुनपर्ने उनले बताए ।
रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सरकारले पूर्णता पाएसँगै अब अर्थतन्त्र सुधारको काममा लाग्ने बताएका हुन् ।
‘गत सालसम्म नेपालमा एउटा आतंक थियो, श्रीलंका आतंक । अहिले छैन । अहिले हामी बर्बाद हुन लाग्यो भन्ने ठाउँमा छैनौं । नयाँ राजनीतिक पहल शुरू भएको छ । अब गुणात्मक सुधार हुन्छ,’ प्रचण्डले भने ।
आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी उनले गरे ।
‘अर्थतन्त्रको कुरा गर्दा तीन महिनामा रेमिट्यान्समा धेरै सुधार भएको छ । राजस्व संकलनमा धेरै सुधार भएको छ । विदेशी मुद्रा सञ्चितिमा निकै राम्रो ठाउँमा आएका छौं,’ प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच बसेर समस्या समाधान गर्न प्रयास गरेका छौं ।’