
टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको शुक्रबार जनाएको छ ।
टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्यसंयुक्त राष्ट्रसङ्घले राखेको छ ।
गत फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेपछि संयुक्त राष्ट्रसङ्घले जारी गरेको एक अर्ब अमेरिकी डलर जम्मा गर्न गरेको अपिलअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेका छन् ।
जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताए।
“अब हामी मानवीय आपतकालीन चरणमा संलग्न छौं, जहाँ हामी बाँचेकाहरूलाई के चाहिन्छ भनेर हेर्छौं,” उनले भने ।
गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसङ्घले टर्कीमा भूकम्पपछिको पहिलो तीन महिनामा ५० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको अपिल गरेको थियो ।