१९ असार २०८३, शुक्रबार

टरिगाउँ विमानस्थलमा पहिलेकै धावनमार्ग विस्तारको तयारी

टरिगाउँ विमानस्थलमा पहिलेकै धावनमार्ग विस्तारको तयारी

दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ४ विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए ।

‘क्यानले ४ वटा विकल्प दिएको थियो,’ उनले भने, ‘तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौं ।’ 

पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ । हालको ७५० मिटर धावनमार्ग बढाएर १ हजार २३० मिटर लम्बाइ बनाउने तयारी छ । 

उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिए । विमानस्थलको ३९ बिघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण १ दशमलव २ बिघा र सार्वजनिक जग्गा ४ दशमलव ८ बिघा लैजानुपर्छ । 

विमानस्थल बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार ८०० लागत अनुमान गरिएको छ । सोहीअनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाइसकेको उनले बताए । आगामी वर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरी लागेको उनले बताए ।
  
सोही विकल्पअनुसार फुटपाथ तथा संरचना निर्माणको कामलाई २ अर्ब ७६ करोड ५० लाख ९४ हजार ८६०, भवन लगायतका सामग्रीलाई ३ अर्ब १३ करोड ४२ लाख ४० हजार, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ । 

यो विकल्पअनुसार अहिले रहेका घर फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्नसक्ने अवस्था रहँदैन । रातमा हवाई अवतरण गर्न थप ४५० मिटर जमिन चाहिन्छ । यो डिजाइनअनुसार काम गरेमा ५ वर्षमा विमानस्थल बन्नेछ । यसमा ‘आईई’ र ‘ईआईए’ गर्न २ वर्ष लाग्छ । साथै जग्गा अधिग्रहण गरेपछि ३ वर्ष लाग्छ । 

टरिगाउँ विमानस्थलमा विक्रम संवत् २०११ देखि २०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको हो । त्यतिबेला सिधा दाङ काठमाडौं जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवलस्थित तिनाउमा पनि पुल थिएन ।

यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौं जानुपर्ने परिस्थिति थियो । केही समय अवरोध भए पनि जसोतसो २०७० सालसम्म विमान सञ्चालनमा आएको थियो ।

त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकैदिन परीक्षण उडान भरेको थियो । त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झण्डै १ वर्षको अन्तरालमा मात्रै २०७२ जेठ १४ गतेदेखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा शुरू गरे पनि १ वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो ।

त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमित रूपमा हवाई सञ्चालन भइरहेको छ । विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ । साढे ८ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ ७५० मिटरको छ भने चौडाइ ३० मिटर छ ।

ठूला खाले विमान अवतरणलाई कम्तीमा धावनमार्गको लम्बाई १ हजार २०० मिटरदेखि माथि १ हजार ५०० मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल यहाँ नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन् ।

हाल शुक्रवारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ ।

salt training

कमेन्ट गर्नुहोस्