
नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले वैशाख १० गते हुने तय भएको उपनिर्वाचनमा उम्मेदवार हुन अस्वीकार गरेका छन् । पार्टीको तर्फबाट आफ्नो नाम उम्मेदवारमा सिफारिस भएपछि ढकालले विज्ञप्तिमार्फत उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण देखाउँदै निर्वाचन लड्न नसक्ने बताएका हुन् ।
अबको पार्टी र राजनीतिक आन्दोलनको नेतृत्व युवा पक्तिबाट हुनु पर्ने भन्दै उनले युवा उम्मेदवारलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘मेरो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिभावकीय भूमिकामा रहने सोचाइ भएकोले म आगामी वैशाख १० गते हुन गइरहेको उप निर्वाचनमा तनहुँ जिल्ला क्षेत्र नं १ को उम्मेदवार नहुने घोषणा गर्दछु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘अबको पार्टी र राजनैतिक आन्दोलनको नेतृत्व युवा पक्तिबाट हुनु पर्दछ भन्ने मान्यता राख्दछु । अतः हाम्रो पार्टीको तर्फबाट हुने युवा उम्मेदवारलाई पूर्ण समर्थन गर्दछु र सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।’
वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ जिल्ला क्षेत्र नं १ मा माओवादी तनहुँ जिल्ला पार्टी र तनहुँ–काठमाडौं सम्पर्क समन्वय समितिले उनको नाम सिफारिस गरेको थियो ।