अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कारदेखि फिफासँग बजेट माग्नेलगायतका ४ बुँदे निर्णय गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको आकस्मिक कार्यसमिति बैठकले फुटबलसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको हो ।
अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले दशरथ रंगशालामा शुक्रबार सम्पन्न प्रधानमन्त्री त्रिदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । साथै विजयी हुने नेपाली राष्ट्रिय फुटबल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
यस्तै विभिन्न शीर्षकमा फिफासँग बजेट माग गर्ने निर्णय पनि भएको सुरेश शाहले जानकारी दिए । उनका अनुसार शहिद स्मारक बी डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई रु १४ लाख ५० हजार र बी डिभिजन लिग संचालनका लागि ३ करोड ९३ लाख १,८१३ बजेट पारित गर्दै सोहीअनुसारको रकम माग गर्ने निर्णय भएको छ ।
यस्तै जिल्ला लिग संचालनका लागि प्रत्येक जिल्लालाई प्रदान गरिने रकम पनि माग भएको छ । जसअनुसार जिल्लाको कार्यालय संचालन गर्नलाई २ लाख रुपैयाँ दिने निर्णय भएको छ ।
यस्तै जिल्लाको फुटबल सामाग्रीहरुका लागि रु १ लाख दिने निर्णय भएको छ ।
यस्तै ए, बी, सि डिभिजन लिग, महिला लिग र जिल्ला लिग लगायत प्रतियोगिता खर्चका लागि संघले प्राप्त गर्ने अनुदानको शीर्षकबाट रकम निकासा गर्न एएफसि र फिफासँग अनुरोध गर्ने निर्णय पनि भएको छ ।
यस्तै प्रधानमन्त्री त्रिदेशिय फुटबल प्रतियोगिताको पुरस्कार स्वरुप प्राप्त हुने ९,५०० अमेरिकी डलर र नेपाली राष्ट्रिय टोलीको बसोबास खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय पनि भएको शाहले जानकारी दिए ।