२३ असार २०८३, मंगलबार

सुन्दरीजल–जोरपाटी मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै

सुन्दरीजल–जोरपाटी मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउनका लागि सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरु गरिएको छ । सुन्दरीजलबाट जोरपाटीसम्म ११ किमी लम्बाइमा हाल रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो । मेलम्चीको पानी पहिले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जान्छ । केन्द्रमा प्रशोधन भएपछि यही बाटो भएरै उपत्यकाका अरु स्थानमा जान्छ । 

अहिले भइरहेको पाइपबाट हाल पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ । दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । सुन्दरीजलबाट काम सुरु गरेर चावहिलतर्फ गर्दै जाने योजना रहेको उनले बताए । 

एक हजार आठ सय र एक हजार छ सय मिलीमिटर (एमएम)को जिआइ पाइप बिछ्याउन लागिएको हो । पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ । अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यका ल्याइएको छ । अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना रहेको छ । 

यहाँ पाइप बिछ्याउने काम दुई वर्षमा सकाउनुपर्ने सूचना अधिकारी श्रेष्ठले बताए । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्