३० जेठ २०८३, शनिबार

सरसर्ती २४ घण्टा : मिटरब्याजी पीडितसँग सहमतिदेखि मध्यचैतमा हिमपातसम्म

सरसर्ती २४ घण्टा : मिटरब्याजी पीडितसँग सहमतिदेखि मध्यचैतमा हिमपातसम्म

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेका छन् । पेटमा समस्या आएपछि पौडेल अस्पताल शनिबार साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना  भएका हुन् ।  उनको चिकित्सको निगरानीमा उपचार भइरहेको छ । 
००००
सरकार र मिटरब्याजी पीडितहरुबीच पाँच बुँदे सहमति भएको छ । सरकारी टोलीबाट सहसचिव प्रदीपकुमार कोईराला र संघर्षसमितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीबीच मन्त्रिपरिषद्बाट जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्न सिफारिस गर्नेसहितको सहमति भएको हो । 

पीडितका उजुरीलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधित्व हुने गरी समन्वय समिति गठन गर्न सरकारसमक्ष सिफारिस गर्ने सहमति भएको संयोजक पासवानले बताए ।
००००
कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा  रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर  केरूङतर्फ पठाइएको छ । 
नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाकाहुँदै रसुवा फर्किएका छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले  चाँडै नै रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुने दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा लामिछानेले यस्तो दाबी गरेका हुन् । 

‘कयौँ क्षमतावान व्यक्तिहरु यस पार्टीको माध्यमबाट देशको सेवा गर्न तयार भएर बस्नुभएको छ।  निर्वाचनसँगै तपाईँहरुले प्राप्त गर्नुहुने छ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’

उनले यो जनाउ घण्टीमात्रै भएको भन्दै त्यसकै सुरुवातमा आज स्वर्णिम वाग्ले र रमेश खरेल साथमा रहेको बताए ।  
यसैगरी अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए ।  उनले पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको बताए । उनले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए ।  उनले मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको समेत दाबी गरे ।
००००
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् । उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताए ।

शनिबार आयोजित पत्रकार सम्मेलनकै बीच लामिछानेलाई चितवन २, वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा हुने उपनिर्वाचनका लागि रास्वपाले टिकट हस्तान्तरण गरेको छ । 
००००
नेकपा एमालेले नेता भीम रावललाई उचित जिम्मेवारी दिने भएको छ । गएको महाधिवेशनदेखि पार्टीका भूमिकाविहीन भएका रावललाई एमालेले उचित जिम्मेवारी दिने भएको हो । 
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले शनिबार बसेको पार्टी सचिवालय बैठकले रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको बताए ।
००००
१० वैशाखमा हुने उपनिर्वाचनका लागि एमालेले दुई वटा क्षेत्रका उम्मेदवार तय गरेको छ । एमालेले तनहुँ १ बाट पूर्व आईजीपी सवेन्द्र खनाल, चितवन २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा २ को भने उम्मेदवार टुंगिन बाँकी छ । 
००००
१० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा कांग्रेसले जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ । तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार उठाउने निर्णय गरेको कांग्रेसले बारा २ मा भने सत्ता गठबन्धन दल जसपाका उम्मेदवारलाई समर्थन गर्ने भएको हो ।

बारा २ बाट उम्मेदवार बन्ने तयारी गरेका यादवलाई समर्थन गर्ने गरी कांग्रेसले निर्णय गर्न लागेको हो । यसका लागि आइतबार बिहान १० बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
००००
नेकपा माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले वैशाख १० गते हुने तय भएको उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार हुन अस्वीकार गरेका छन् । पार्टीको तर्फबाट आफ्नो नाम उम्मेदवारमा सिफारिस भएपछि ढकालले विज्ञप्तिमार्फत  उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण देखाउँदै निर्वाचन लड्न नसक्ने बताएका हुन् । 

अबको पार्टी र राजनीतिक आन्दोलनको नेतृत्व युवा पक्तिबाट हुनु पर्ने भन्दै उनले युवा उम्मेदवारलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
००००
अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कारदेखि फिफासँग बजेट माग्नेलगायतका ४ बुँदे निर्णय गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको आकस्मिक कार्यसमिति बैठकले फुटबलसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको हो । 

अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले  दशरथ रंगशालामा शुक्रबार सम्पन्न प्रधानमन्त्री त्रिदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।  साथै विजयी हुने नेपाली राष्ट्रिय फुटबल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
००००
इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । खाना पकाउने ग्यासको मूल्य समेत ९६ रुपैयाँ घटेर आएको छ ।
००००
काठमाडौँको चन्द्रागिरिमा हिउँ परेको छ। शनिबार बिहान हल्का वर्षा भएसँगै चन्द्रागिरिमा हल्का हिउँ परेको हो।
यस बर्ष पहिलोपटक चन्द्रागिरिमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी बिदुर न्यौपानेले जानकारी दिएका छन् । उपत्यकाका डाडाहरु र देशका विभिन्न भागमा पनि हिमपात भएको खबर छ । 
हिउँदमा नपरेको हिउँ चैतमा पर्नु मौसमजन्य वातावरण असन्तुलन भएको मौसमसविद् बताउँछन् । जलवायु विश्लेषक तथा मौसमविद् प्रतिभा मानन्धरले यो वर्षाजन्य मौसमी असन्तुलनका कारण भएको बताइन् ।
००००
कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ ।  भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्