
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताउनुभएको छ ।
आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका बताए।
सरकार सहमतिप्रति गम्भीर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने स्पष्ट पारे। उनले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढ्ने बताए।
उनले भने, ‘वार्ता भएर हामीले सहमति पनि गरिसकेका छौँ । उहाँहरू अब फर्किने तयारीमा हुनुहुन्छ । फर्किनुभन्दा अगाडी हामीले उहाँहरू सबै हिँडेर आउनुभएको यत्रोदिन उताबाट स्वास्थ्य परीक्षण पनि गराऔँ । केही उपचार गर्नुपर्ने छ भने उपचार पनि गराऔँ भनेको थियौँ। हामी विश्वस्त भएर जाँदैछौँ । धेरैले आजै बेलुका जान्छौँ होला भन्नुभएको छ । सहमती कार्यान्वयन हुन्छ उहाँहरू ढुक्क हुनुहुन्छ ।'
पीडितहरू पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे । उनीहरूले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए ।
पासवानले आफूहरू भोलि (सोमवार)सम्म गाउँ फर्किसक्ने बताए। गाउँसम्म पुग्ने व्यवस्थापन आफूहरू स्वयंले गरेको उनले जानकारी दिए।