अमेरिकाको फ्लोरिडामा केही दिनअघि आमा र बच्चा हराएका छन् ।
उनीहरूका नातेदारले खोजी गर्दा एक अपार्टमेन्टमा आमाको लाश भेटियो । बच्चा चाहिँ कतै पनि फेला परेन ।
धेरै दिनपछि अनुसन्धानकर्मीहरूले बच्चाको लाश नजिकैको पोखरीमा रहेको एउटा गोहीको मुखमा अड्किएको देखे । जम्मा दुई वर्षको बच्चाको शव निकाल्नका लागि गोहीलाई मारिएको थियो ।
एपी समाचार संस्थाका अनुसार, ती बालकको नाम टेलन मोस्ली हो । उनकी आमा पशुन जेफ्रीको लाशमा चक्कुले हानेर बनाइएका अनेकौं घाउ देखिएका थिए । सेन्ट पिटर्सबर्ग प्रहरी प्रमुख एन्थोनी होलोवेका अनुसार, आमाछोराको मृत्युमा पिता टमस मोस्लीको संलग्नता हुन सक्छ ।
पारिवारिक झगडाका कारण यो वीभत्स घटना भएको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । मोस्लीको घरमा केही दिनअघि बेस्सरी हल्लाखल्ला भएको छिमेकीहरूले सुनेका थिए ।
अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । बच्चालाई हत्या गरिएको हो कि गोहीले नै मारेको हो भनी प्रहरीले खुलाएको छैन ।