
चीनको नागरिक मामिला मन्त्रालयले जाङनान अर्थात् भारतको अरुणाचल प्रदेशका ११ स्थानको चिनियाँ नाम सार्वजनिक गरेको छ ।
चिनियाँ भाषामा तिब्बतलाई सिजाङ भनिन्छ र अरुणाचल प्रदेशलाई सिजाङको दक्षिणी भागका रूपमा चीनले व्याख्या गर्ने गरेको छ ।
चिनियाँ विज्ञहरूले यो वैध कदम भएको र भौगोलिक नामहरूलाई आधिकारिक नाम दिने सार्वभौम अधिकार चीनसँग रहेको बताएका छन् ।
आइतवार चीनले सार्वजनिक गरेका नाममा दुईवटा भूक्षेत्र, दुईवटा आवासीय क्षेत्र, पाँचवटा पहाडका चुचुरा र दुईवटा नदी छन् ।
नागरिक मामिला मन्त्रालयले जाङनानमा आधिकारिक नाम राखेको यो तेस्रो अवसर हो । सन् २०१७ र २०२१ मा पनि उसले नामकरण गरेको थियो ।
यी नामहरू चिनियाँ र तिब्बती लिपि दुवैमा प्रकाशित छन् ।