उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थापित गरिने बताएका छन् ।
उनले गैरकानूनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए । प्रहरी प्रधान कार्यालयको आज अनुगमन गर्दै उनले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने बताए ।
उपप्रम श्रेष्ठले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए ।
“गरीब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन् । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुपर्छ । वास्तविक जनताका मुद्दा प्रहरीले सुनिदिनुपर्छ र हेरिदिनुपर्छ”, अनुगमनका क्रममा उनले भने, “ लाभ र सुविधा केन्द्रित बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।”
सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।