
सवारी साधनको ठूलो पर्वको रुपमा लिइने ‘नाडा अटो शो’को १२ औं संस्करण मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । आगामी १८ गतेसम्म संचालन मेलामा ८३ भन्दा बढी कम्पनीका १ सय ३० भन्दा बढी स्टल रहेका छन् । अटो शोमा नेपालमा रहेका सम्पुर्ण ब्राण्डका चार पांग्रे, दुई पांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरु छन् भने बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स लगायतका स्टलहरु समेत रहेका छन् । पछिल्लो समय नेपालमा अटो मोबाइल क्षेत्रको अवस्था समस्या तथा चुनौति लगायत विषयमा मेला आयोजक संस्था नेपाल अटोमोबाइल डिलर्स एसोसिएन (नाडा) का अध्यक्ष अन्जन श्रेष्ठसँग लोकान्तरका लागि मनीषा अवस्थीले कुराकानी गरेकी छिन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
‘नाडा अटो शो’ किन आयोजना गरिएको हो ?
यो मेला अटो मोबाइल क्षेत्रको ठूलो प्रर्दशनी हो । अटो मोबाइल क्षेत्रका सबै जिम्मेवार व्यक्तिहरु उपस्थित भएर अटो मोबाइल क्षेत्रका सबै कुराहरु जानकारी गराउने उद्देश्य यो मेला आयोजना गर्ने गर्छौ । यहाँ सबै कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न आकर्षक योजना बनाएका हुन्छन् । नयाँ सवारीसाधन पनि सार्वजनिक गर्छन् । नाडा अटो शोलाई सबै कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गर्ने उपयुक्त अवसरको रुपमा ठान्दछन् ।
एकै थलोमा ठूलो संख्यामा ग्राहकवर्ग आएर सवारीसाधन खरिद तथा अर्डर गर्ने भएकाले यो अवसरबाट कोही पनि चुक्न चाहदैन । व्यवसायीले बजारमा आएको नयाँ उत्पादनलाई सुपथ मूल्यमा किन्न र बुक गर्ने मौका दिन्छ । यो हिसाबले हेर्ने हो भने उपभोक्तालाई नाफा पुगेको देखिन्छ । त्यसैले ग्राहकका लागि एउटा महत्वपूर्ण अवसर हो । उपभोक्ताहरुले व्यवसायीसँग छलफल तथा अन्तकृया गरी, आफुले किन्ने सवारी साधनबारे राम्रोसँग जान्ने र किन्ने राम्रो अवसरका रुपमा पनि यसलाई लिन सकिन्छ । यो अवसर अटो मोबाइल क्षेत्रको कुम्भ मेला सरह नै हो ।
मेला गर्नको लागि यही समय किन रोज्नु हुन्छ ?
दशैंमा मिठो खाउ नयाँ लगाउ भन्ने सबैको ईच्छा हुन्छ । श्रमजीवि तथा कर्मचारीले दशैंमा बोनस पाउछन् । आम उपभोक्ताले दशैंमा केही नयाँ किन्छु भनेर योजना बनाएको हुन्छ । यो मेलामा नयाँ प्रडक्ट सार्वजनिक हुन्छ । नेपालमा उपलब्ध हुने सबै सवारीसाधन एउटै थलोमा हेरेर छान्न पाइन्छन् । त्यसैले यो आम नागरिकका लागि ठूलो अवसर पनि हो । दशैंबाहेक नयाँ वर्ष र समर सिजनमा पनि ग्राहकलाई आकर्षित गर्ने स्कीमहरु आएका हुन्छन् । दशैं अगाडी चाँही धेरैले नयाँ गाडी किन्ने भएको हुनाले यो बेला चाँही विशेष कार्यक्रम आयोजना हुन्छ । यद्यपि अटोमोबाइल क्षेत्रले दशैंमा मात्र नभई अरु समयमा पनि प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेको छ । अटोमोबाइल व्यवसायीले वर्षमा मात्र करिब तीन पटक प्रर्बद्धनात्मक कार्यक्रम गरिरहेका छन् ।

सेग्मेन्ट वाइज हेर्दा अटोमोबाइलको बजार हिस्साको अवस्था कति छ ?
एन्ट्री लेबलका गाडीको बजार हिस्सा करिब २० प्रतिशतको छ । एसयुभी सेग्मेन्टको कार करिब ३० प्रतिशत छ । मिड साइजको कारको करिब ५० प्रतिशतकै हाराहारी पुग्न आउँछ । यसमा ट्याक्सीको कुरा जोड्न सकिदैन । किनकी ट्याक्सी नियमित बिक्री हुने होइन । एउटा निश्चित समयमा सरकारले नम्बर प्लेट दिने भएकाले यसलाई तुलना गर्न मिल्दैन ।
हुण्डाई ब्राण्डको बजार कस्तो छ ?
गत वर्षको तथ्यांक हेर्दा हुन्डाईको बजार हिस्सा ३० प्रतिशत थियो । विस्तारै यसको बजार बढिरहेको छ । बिचमा समग्र अटो मोबाइल क्षेत्रसँगै अटोमोबाइल लोन घटेपछि यसको बजारमा पनि खस्कियो । यद्यपि अहिले फेरी अटो लोनको सुविधाले राहत थपिएको छ । अहिले हुण्डाइले ३३ प्रतिशत बजार हिस्सा आगटेको छ ।
पछिल्लो समय नेपाली अटो मोबाइल उद्योगको अवस्था कस्तो छ ?
पछिल्ला वर्षहरुको अवस्था हेर्दा सवारीसाधनको आयात तथा कारोबार प्रत्येक वर्ष बढ्दै गइरहेको छ । सन् २०१० पछिको अवस्था हेर्दा प्रत्येक वर्ष २० देखि ३० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षकोे मौद्रिक नीति घोषणापश्चात जब अटो मोबाइल क्षेत्रले ६५ प्रतिशत सम्म पाउने भयो । यसले अझै ठूलो राहत पुगेको छ । गत आर्थिक वर्षमा बजारमा तरलता अभाव देखिएपछि बैंकहरुले अटोलोनमा कडाइ गरेपछि केही खस्किएको बजार फेरी उकालो लागेको छ । त्यसैको एउटा उदाहरण नाडा अटो शोमा १० वटा बैंक फाइनान्स कम्पनीहरु सहभागी भएका छन् । यो निकै सकारात्मक पक्ष हो ।
नेपालमा निजी सवारी साधनलाई विलासिताको वस्तुको रुपमा लिने चलन छ, अनुत्पादक क्षेत्रमा लगानी बढेको पनि टिप्पणी हुन्छ नि ?
सवारीसाधन विलासिता हुँदै हौइन । सवारीसाधनको कुनै पनि देशको सम्बृद्धिको आधार तय गरेको हुन्छ । कुनै पनि व्यक्तिले समयमा आवतजावत होस् र कार्य क्षमता बढोस् भन्ने उद्देश्यले आफ्नो सवारीसाधन ऋण गरेर किनेको हुन्छ । यसलाई कसरी विलासी भन्ने रु कोही पनि मान्छेले सवारी साधन रहरले किन्दैन । राज्यले भरपर्दो र सुरक्षित सार्वजनिक सवारी साधनको व्यवस्था गर्नुपथ्र्यो, त्यो गर्न नसक्दा नेपालमा नीजि सवारीसाधन नितान्त आवश्यक भएको छ ।
बैंकले आकर्षण बढाइदिएको छ । अहिले गाडी किन्दा भविष्यको कमाइको प्लान गर्न सकिन्छ । त्यसैले अहिले कसैले पनि आयातको हिसाबले भन्दा बजारको मागको आधारमा लिनुपर्छ । जुन वस्तुलाई उपभोग गरेर देश समाज तथा व्यक्ति चलायमान हुन्छ, त्यही यो अटो मोबाइल त्यसैले यो उत्पादक वस्तु पनि हो । अटो मोबाइल जति चक्का गुड्छ त्यति नै अर्थतन्त्र अगाडी बढ्छ ।
अहिले पनि अटो मोबाइल आम सर्बसाधारण पहुँचमा पुग्न सकेको छैन । यसमा पहुँच बढाउन कसले के गर्नुपर्छ रु
सबैभन्दा पहिले त यसलाई सर्बसुलभ बनाइनुपर्छ । विश्वमै नभएको २ सय ५० प्रतिशत बढी राजश्व घटाउनुपर्छ । आम सर्बसाधारणको पहुँचमा बनाउनु त राज्यले सक्छ नि । कि भरपर्दो, सुरक्षित सार्वजनिक सवारीसाधनलाई कि प्रभावकारी बनाउनुपर्छ कि त राज्य नीजि सवारीसाधनमा आम जनताको पहुँच बढाउनुपर्छ । सवारी साधनको विस्तारले व्यापार विविधिकरण भइरहेको छ । अर्थतन्त्र उकालो लागिरहेको छ । त्यसैले हामीले गाडी बेचिरहेका छैनौं मोबिलिटी (गति) बेचिरहेका छौं ।
विस्तारै भौतिक पूर्वाधारमा पनि विकास भइरहेको छ । सडक पुग्न बाँकी २ वटा जिल्लामा यो वर्ष सडक पुर्याउने सरकारले लक्ष्य लिएको छ । यो कुरामा नारामा मात्रै सिमित भएन भने सडकमा गाडीसँगै विकास गुडिरहेको हामीले बुझ्नुपर्छ । अहिले पनि नेपालमा कूल जनसंख्या ७ प्रशितले मात्रै मोटरसाइकल चढिरहेका छन् भने चारपांग्रे सवारीसाधन शुन्य दशमलव ७ प्रतिशतले चढिरहेका छन्, के आवश्यकता यत्ति मात्रै हो ?
नेपालमा सडकभन्दा धेरै गाडी भए भनिन्छ नि ?
यो समयको कुरा हो, मागको कुरा हो । खास कुरो के हो भने हामी जनसंख्या दिनप्रतिदिन बृद्धि गरिरहेका छौं, तर उनिहरुको अधिकार सवारीसाधन खरिदमा चाहीँ कडाइ गरिदिने रु राज्यले आवश्यक भौतिक पुर्वाधारको विकास गर्नुपर्छ । अहिले सडकहरुको विकासको अवस्था सिंगल डिजिटमा मात्रै बढिरहेको छ । आजभन्दा २० वर्ष पहिला काठमाडौं र अहिले त जनसंख्याकै हिसाबले धेरै फरक छ नि । त्यतिबेला करिब १० लाख जनसंख्या रहेको काठमाडौंको जनसंख्या अहिले झण्डै ८० लाख छ । त्यसैमाथि डेरा गरी बस्ने पनि छन् ।
जनसंख्याको हिसाबले सडकको विकास त भएकै छैन यो कुरा राज्यले बुझ्नुपर्छ । सवारीसाधन अर्थतन्त्रको आधार हो, त्यसैले सवारीसाधन बढाउनुपर्छ तर सँगै सडक पनि बढाउनुपर्छ । सवारी साधनले त झण्डै २१ रोजगारी सृजना पनि त गरेको छ ।