२५ असार २०८३, बिहीबार

बागलुङ, पर्वत र म्याग्दीमा सफल बन्दै सडक मानवमुक्त अभियान

बागलुङ, पर्वत र म्याग्दीमा सफल बन्दै सडक मानवमुक्त अभियान

बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । 

६ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान सफल हुँदै गएको छ ।

अहिले कालिका मन्दिर परिसरमा मागेर खाने देख्न पाइँदैनन् । उनीहरूको उपचारका साथै आश्रय दिएपछि कालिका मन्दिर परिसरमा उनीहरू कमै आउन थालेका हुन् ।

बागलुङका विभिन्न चोक तथा गल्लीमा पनि मागेर खानेको संख्या क्रमशः घट्दै गएको छ । आश्रमले धवलागिरिको म्याग्दी, पर्वत र बागलुङलाई सडक मानवमुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहाराको उद्धार, उपचार, हेरचाह तथा पुनर्मिलन गराउँदै आएको छ । बेसहाराको उपचार र व्यवस्थापन गर्दा अभियान सफल बन्दै गएको आश्रमका संयोजक विपाना तामाङले बताए ।

चालू आर्थिक वर्षमा धवलागिरिका ३ जिल्लाबाट २७ जनाको उद्धार गरिएको छ । हाल आश्रममा ४९ बेसहारा तथा सडक आश्रित व्यक्ति रहेका तामाङले बताए । चालू आवमा ६ जनाको पुनर्मिलन, ३ जनाको मृत्यु तथा स्वेच्छिक रूपमा १२ जनाले आश्रम छाडेका छन् । 

‘सुरक्षा निकाय र जनप्रतिनिधिको सहयोगमा उद्धार गर्ने गरेका छौं,’ तामाङले भने, ‘६ वर्षमा झण्डै ४०० जनाको उद्धार भइसकेको छ ।’

आश्रममा झण्डै ८० प्रतिशत आश्रित मानसिकरूपमा असन्तुलन भएका र २० प्रतिशत शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका आश्रमका अभिभावक शिव खड्काले बताए । दाताको भरमा चल्दै आएको आश्रममा आश्रितको संख्या बढ्दै गएपछि आवास व्यवस्थापनको समस्या भएको छ ।

आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा १२ करोड रुपैयाँको लागतमा सात रोपनी जग्गामा भवन बनाउँदैछ । भवन बनेपछि १५० देखि २०० जनालाई आश्रय दिन सकिने मानव सेवा आश्रमले जनाएको छ । हालसम्म आश्रम पुण्यतिथि, जन्मदिन, चौरासी पूजा र व्रतबन्धजस्ता सामाजिक तथा धार्मिक कार्यको अवसरमा प्रदान गरिने  खाद्यान्न र नगदबाट सञ्चालित छ । 

salt training

कमेन्ट गर्नुहोस्