०३ असार २०८३, बुधबार

कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ ।

पशुमा लाग्ने रोग संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी २ लाख १८ हजार ७०० खोप लगाइएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैंसी र बंगुरमा मात्र ९४ हजार ४०१ खोप लगाइएको छ । गाईभैंसीमा नै हुने अर्को भ्यागुुते र चरचरे गरी २६ हजार ३७१ खोप लगाइएको छ भने बंगुरका स्वाइनफिबरका लागि करीब १५ हजार खोप लगाइएको छ ।

भेडाबाख्रामा हुने पीपीआर रोग नियन्त्रणका लागि झण्डै ७७ हजार र रेबिज विरुद्धमा ६१ हजारभन्दा बढी खोप लगाइएको डा. पाण्डेले जानकारी दिए । खोप लगाउनका लागि गाउँगाउँमा किसान सचेत कार्यक्रम भइरहेको र स्वतःस्फूर्त माग पनि बढिरहेको उनले बताए ।

खोपबारे हेम्जा गाई फार्मका सञ्चालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको २ पटक र अन्य खोप एकपटक लगाउने नीति सरकारले अगाडि बढाउनुपर्ने बताए ।

कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताउँदै यस वर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट शुरू भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको जानकारी दिए ।

भेडाबाख्राका लागि पीपीआर खोप चलिरहेको र महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोप गाउँपालिकामा पुर्‍याउने उनको भनाइ छ । पूर्णखोप कार्यक्रमले पशुवस्तुमा हुने क्षति न्यूनीकरण गरेको अर्का किसान शोभाखर भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्