
सरकारले भोलि बिहीवार साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
कार्यदलले अन्तिम रूप दिएर तयार गरेको साझा कार्यक्रम भोलि सार्वजनिक गर्ने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
‘कार्यदलले सरकारका साझा न्यूनतम कार्यक्रमलाई लगभग तयार गरेका जानकारी पाएका छौं,’ सूर्यकिरणले भने, ‘भोलि यसलाई सार्वजनिक गर्ने तयारी छ ।’
कार्यदलमा कांग्रेसका रमेश लेखक, माओवादीबाट शक्तिबहादुर बस्नेत, जसपाबाट राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट विजय पौडेल सहभागी छन् । यसअघिको साझा कार्यक्रममा केही विषय थपघट गरेर साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको हो ।
साझा कार्यक्रममा मुख्य ९ वटा प्राथमिकताका विषय समेटिएको १० पेजको छ ।
एमाले सरकारबाट बाहिरिएपछि सत्तारुढ दल बनेको नेपाली कांग्रेसका चुनावी प्रतिबद्धतालाई साझा कार्यक्रममा समेट्ने प्रयास गरिएको बुझिएको छ ।
नेकपा माओवादी केन्द्र महासचिव देव गुरुङले पनि भोलि साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।
‘संयुक्त सरकारका प्राथमिकता र भावनलााई कार्यक्रममा समेटिएको जानकारी पाएका छौं,’ गुरुङले भने, ‘माओवादीले पनि पदाधिकारी बैठकमा साझा कार्यक्रमबारे पनि छलफल गर्दैछ । भोलि बिहान सत्ता गठबन्धनको बैठक बसेपछि कार्यक्रम सार्वजनिक होला ।’
सत्ता गठबन्धनमा सहभागी दलले मंगलवार पनि साझा न्यूनतम कार्यक्रमबारे बालुवाटारमा छलफल गरेका थिए ।
पछिल्लोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डले जनजीविकाका सवाललाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन् । सुशासनको बोध गराउने र प्रभावकारी कार्यसम्पादन गरी नागरिकमा उत्साह थप्ने गरी काम गर्न उनले मन्त्रीहरूलाई निर्देशन पनि दिएका छन् ।