
लुम्बिनी प्रदेशमा बनेको मुलुककै सुविधासम्पन्न अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र चुहिन थालेको छ ।
कमिसनको खेलमा ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरी निर्माण गरेपछि ५ हजार क्षमताको ‘एडभान्स’ सभा हल हस्तान्तरण नहुँदै हिउँदे वर्षाले विभिन्न ठाउँबाट चुहिएर आहाल बनाएको छ ।
लुम्बिनी विकास कोषभित्र बनेको सभा हल निर्माणमा लापरवाही गर्ने कम्पनी लुम्बिनी/अर्घाखाँची/बबुल जेभी काठमाडौंलाई तत्काल मर्मत नगरे अन्तिम बिल भुक्तानी रोक्ने भन्दै विकास कोषले पत्र काटेको छ ।
७५ करोड रूपैयाँको लागतमा बनेको ८ हजार ३०० वर्गमिटर क्षेत्रमा रहेको हलमा ३२ स्थानबाट पानी चुहिएको छ तर लुम्बिनी बबुल जेभीका सञ्चालक सन्तोष अधिकारीले बाहिर हल्ला गरिएजस्तै सभा हल चुहिएको ठूलो कुरा नभएको दाबी गरे ।
‘सभा हल टेक्नोलोजीमा अडिएको हुन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘हजारौं ‘बोल्ट’ र ‘ज्वाइन’मा हावाको झोक्काले दबाब दिँदा चरमा पानी परेर चुहिएको छ । टेक्निकल समस्या पत्ता लगाएर हामी मर्मत गर्ने तयारीमा छौं । अनावश्यक चर्चामा ल्याउन जरुरी छैन ।’
गत हप्ता २ पटक परेको वर्षापछि सभा हलको छानोमा लगाइएको ‘स्याण्ड’बीच प्यानलबाट पानी चुहिएको हो । विकास कोषले निर्माण कम्पनीलाई पत्र पठाउँदै तत्काल भरपर्दो तरिकाले मर्मत गर्न निर्देशन दिएको छ ।

‘आकाशबाट आएको पानी छानोबाट चुहिएको देखिएकाले यथाशीघ्र भरपर्दो रूपमा मर्मत गरी प्राविधिक रूपमा पानी नचुहिने प्रत्याभूति गर्न हुन निर्देशन दिइएको छ,’ कोषका सदस्य सचिव सानुराजा शाक्यले ठेकेदार कम्पनीलाई लेखेको पत्रमा भनिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लुम्बिनीमा बनेको चुहिने भवन सम्बन्धित निर्माण कम्पनीले नियमअनुसार तत्काल मर्मत सम्भार गराउने र अन्यथा कारवाही गरिने सामाजिक सञ्जालमा लेखेका छन् । कोषका योजना प्रमुख इन्जिनीयर सरोज भट्टराई र भौतिक पूर्वाधार निर्माण तथा मर्मत शाखालाई बोधार्थ दिँदै छानो मर्मत सम्पन्न नहुञ्जेलसम्म अन्तिम बिल भुक्तानी रोक्न भनेका बताए ।
‘सभा हल नयाँ टेक्नोलोजीको रूपमा कोरियन प्रविधिमा बनेको छ,’ इन्जिनीयर अधिकारीले लोकान्तरसँग भने, ‘चुहिएको ठाउँमा ‘वाटर प्रुफिङ मेम्रन्ट’ लगाउने काम तत्काल अगाडि बढाउन भनेका छौं । काम नगरे फाइनल बिल भुक्तानी र धरौटी गरेर दिन बाँकी ५ करोड रुपैयाँ हामीले रोक्छौं ।’
सभा हलको छानो तराईको चर्को गर्मीमा चिसो र शितलरहको मौसममा तातो हुने प्रविधिको रहेको भनिएको थियो । हलमा ६–८ डिग्री सेल्सियससम्म तापक्रम तलमाथि हुन सक्ने चीनबाट आयात गरिएको ईपीएस प्यानल प्रयोग गरिएको थियो । छत साउन्ड ‘प्रूफ’ र असिनापानी पर्दा पनि आवाज नआउने दाबी गरिएको थियो ।
लुम्बिनी विकास कोषको भौतिक पूर्वाधार निर्माण तथा मर्मत शाखाले अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको छानामाथि बुद्धको आँखा जडान गर्दा ठोकिएका ‘स्क्रू’बाट पानी चुहिएको हुनसक्ने बताएको छ ।
अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य सम्पन्न भई गत वर्ष बुद्ध पूर्णिमामा उद्घाटन समेत भइसके पनि छाना माथिको बुद्ध आँखा केही महिनाअघि मात्रै जडान गरिएको हो ।
विक्रम संवत् २०७३ सालमा २५६० औं बुद्धजयन्ती समारोहका लागि निर्माण गरिएको अस्थायी टेन्टलाई हावाहुरी र वर्षाले उडाएर कार्यक्रम बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही कार्यक्रममार्फत् लुम्बिनीमा ५ हजार क्षमताको सभा हल निर्माण गर्ने घोषणा गरेका थिए ।

सोहीअनुसार विक्रम संवत् २०७५ वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीको दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभा हलको शिलान्यास गरेकी थिइन् । शिलान्यास गर्दा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने बताए पनि ४ वर्षमा निर्माण गरिएको सभा हलको गत वर्ष जेठ २ गते परेको बुद्ध जयन्तीको दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
कोरियन प्रविधिबाट छाना निर्माण गरिएको र हलभित्र सजावटमा सभा हलको छाना गोलाकार गुम्बा आकारमा निर्माण भएको छ । सभा हलको चारैतर्फ चाइनिज इँटाको गाह्रो लगाइएको छ भने सभा हलभित्र पस्न मुख्य ३ वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका राखिएका छन् ।
सभा हल निर्माण गर्दा ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि पहिलो र दोस्रो चरणमा गरी निर्माण सम्पन्न गर्दा ७५ करोड रुपैयाँ बढी खर्च भएको विकास कोषको दाबी छ । पहिलो चरणको काम अनक अर्घाखाँची, बाबुल जेभीले २८ करोड १३ लाख रुपैयाँमा ठेक्का लिएको थियो भने दोस्रो चरणको काम लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले ३४ करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
ध्यान केन्द्र १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिल्लर उठाएर छानो बनाइएको छ । सभा हललाई बन्द राख्न चारैतिरबाट चाइनिज इँटाको पर्खाल लगाइएको छ । हल चारैतिरबाट ढाकिएपछि मनमोहक र चिटिक्क देखिएको छ । ३८ हजार वर्गमिटरमा बाउन्ड्री वाल लगाएर हललाई सुरक्षित बनाइएको छ ।

दोस्रो चरणअन्तर्गत हलभित्र फिनिसिङ, कलरिङ, बगैंचा र चमेना गृह बनाइएको छ । ३ ठाउँमा एकैपटक २५ जनाले प्रयोग गर्न मिल्ने क्षमता भएको शौचालय बनाइएको छ । एउटा शौचालय ब्लकमा युरिनल र कमोट गरी २८ शौचालय छन् । साउन्ड सिस्टम जडान गरिसकिएको छ ।
रोस्टममै उभिएर गरिने भाषणलाई १६ भाषामा अनुवाद हुने अत्याधुनिक प्रविधि जडान गरिएको छ । ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्र पूरै सेतो रंग लगाइएको छ । हलको भित्र माथि पहेलो रंगको लोट्स बनाइएको छ । उज्यालोका लागि छतमा ४७६ बत्ती जडान गरिएका छन् । इन्टरनेट (वाईफाई) जोन बनाइएको छ । सञ्चालन विधि नबने पनि सभा हलमा ठूला कार्यक्रम हुन थालेका छन् ।